Sunday, April 21, 2024

प्रधान सेनापति र देवान काजी वंशराज पाँडे (वि. सं. १७९६-१८४२)

संवत् १८१४ जेष्ठ १९ मा कीर्तिपुरको लडाइँमा मारिएका काजी कालु पाँडेका जेठा छोरा काजी वंशराज पाँडे संवत् १७९६ मा गोरखामा जन्मिएका थिए । काजी कालु पाँडे मारिएपछि “मरवट” व्यवस्था अनुसार उनको पालनपोषण स्वयं श्री ५ पृथ्वीनारायण शाहको रेखदेखमा भएको थियो ।

राजाकै निगरानीमा भारदारका टुहुरा छोराहरू उच्च कोटीको तालिम प्राप्त गरी समर्थवान् भएपछि बाबुको पगरी लगाइदिने त्यस बखतको चलन अनुसार वि. सं. १८१९ मा २३ बर्षको उमेरमा उनले काजी कालु पाँडेको बिंडो पाए । श्री ५ पृथ्वीनारायण शाहको विजय यात्राको प्रसंगमा काजी वंशराज अनेक लडाइँको दलमुख भएको कारण उनकै पालामा नामुद मन्त्री बन्दै संवत् १८१९-१८४२ सम्म नेपाल एकीकरणको अभियानमा महत्त्वपूर्ण योगदान गरेका थिए । यसै प्रसंगमा २३ वर्षकै उमेरमा मन्त्री र काजीको पगरी बाँधी मकवानपुरको लडाइँमा बख्सी केहर सिंहका साथमा खटिएका र संवत् १८१९ भदौमा मकवानपुर सर पनि भएको थियो । यसको दुई महिना भित्रै उनैको नेतृत्वमा हरिहरपुर, तिमाल र सिन्धुली गोरखाको अधीनमा आयो ।

मकवानपुर अन्तर्गत बंगालका केही जमीनदारीहरू गोरखाको हात परेको निहुँमा बंगालका आखिरी नवाब मीर कासिमले १८१९ पौषमा गुर्गिन खाँको नेतृत्वमा ठूलो बंगाली फौज मकवानपुरको पक्षमा लड्न पठाउँदा १८१९ माघमा गोरखाली फौजको मकवानपुरमा दोस्रो युद्ध भयो, रात-साँझमा झुक्याई आक्रमण गर्ने गुरिल्ला युद्धको माध्यमबाट काजी वंशराजको नेतृत्वमा मीर कासिमका फौज उपर हमला गर्दा १७०० फौज थलो मै मारिएका कारण सेनापति गुर्गिन खाँ बाँकी फौज लिएर बेतिया तर्फ भागे । यस लडाइँहरूबाट गोरखाली फौजले केही हतियार हात पारे, यिनै हतियारको बलमा श्री ५ पृथ्वीनारायण शाहले ५ पल्टन जमाएका थिए । गोरखाली फौजको बढ्दो जोशका बीच पृथ्वीनारायण शाहले कीर्तिपुर माथि तेस्रो बाजी हमला गर्ने निर्णय गरी “विजिगीषु” नीति समेत अपनाई संवत् १८२२ चैत्र ३ मा काजी वंशराज पाँडे कीर्तिपुर भित्र पसे र उनीहरूले आत्मसमर्पण गर्दा कीर्तिपुर हात पर्‍यो । यस खुशीयालीमा श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटमा ठूलो हर्षबढाइँ गरेका थिए । यस घटनापछि लम्जुङ्गे राजा दलमर्दन शाहले आफ्नो फौज गोरखातिर पठाएको खबर सुन्नासाथ पृथ्वीनारायण शाहले काजी वंशराजलाई सैनिक दल सहित त्यता पठाए । दुवै फौज बीच लाखार्जुङ्गमा आमने सामने आक्रमण हुँदा संवत् १८२३ भाद्रमा लम्जुङ्गे फौजलाई हराए । कीर्तिपुरको पतन र लम्जुङ्गेको हारपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले आफ्नो अस्तित्व रक्षाका लागि बाइसे चौबिसेको आशमारी इस्ट इन्डिया कम्पनीको सहायता लिने निश्चय गर्दा इस्ट इन्डिया कम्पनी र तिब्बत बीचको व्यापारको झलझली सपना देखेका अंग्रेजले जयप्रकाशको सहयोगको लागि कप्तान किनलक र मि. हार्डिङ्गको नेतृत्वमा सिन्धुलीगढीको बाटो मध्यबर्षामा अंग्रेजी फौज नेपाल पठाउने निर्णय गरे । संवत् १८२४ आश्विनमा अंग्रेजी फौज जनकपुरको बाटो गरी सिन्धुलीगढीको फेदीमा उत्रेको थाहा पाउनासाथ श्री ५ पृथ्वीनारायण शाहले उनै वंशराज पाँडेको नेतृत्वमा गोरखाली फौजलाई सिन्धुलीमा लड्न पठाए, मकवानपुरको लडाइँमा चालेका युद्ध नीति नै अपनाई अग्रेजसँग लड्दा गोरखाली फौजको अघि अंग्रेज फौजको केही लागेन, करिब १६०० फौज मारिएपछि बाँकी ८०० फौज लिएर क. किनलक बेतिया तर्फ भागे । यस लडाईबाट प्राप्त हतियारले थप ५ कम्पनी जम्यो । तिब्बतसँगको व्यापार नाका खुल्ला गर्ने मूल अभीष्ट लिएका अंग्रेजले सिन्धुलीगढीको लडाइँको तितो चखाईले त्यसपछि ५७ बर्षसम्म नेपाल माथि हात हाल्ने सहस गरेनन् । मुसलमान र अंग्रेजहरूसँग क्रमशः संवत् १८१९ र १८२४ को लडाइँमा उनीहरू मुसा सरह चुटिएपछि पृथ्वीनारायण शाह बेजोड भए र लगत्तै संवत् १८२५ आश्विन १३ मा कान्तिपुर माथि नै विजय प्राप्त भयो । यस अभियानमा स्वयं राजा, राजाका भाई सुरप्रताप शाह र काजी वंशराज पाँडेले कान्तिपुरलाई तीनतर्फबाट घेरा हाल्दा भीमसेनस्थानको बाटोबाट हनुमानढोका दरबारको मुखतर्फको अगुवाइ काजी वंशराजले गरेका र उक्त अभियान बिना रक्तपात टुँगिएर कान्तिपुर विजय भएको थियो (यद्यपि, सोही घटनामा बारुदको आगोमा परी गोरखाली फौजका काजी तुलाराम पाँडे घाइते भई सोही कारणबाट वीरगति प्राप्त गरेका थिए) र हनुमानढोकामा राजा जयप्रकाश मल्ललाई बस्न बनाइएको सिंहासनमा श्री ५ पृथ्वीनारायण शाह त्यसै राती विराजमान भए । त्यसको १० दिनपछि पाटन र १६ महिना पछि संवत् १८२६ पौष २६ गते भक्तपुर पनि सर भयो । सुरप्रताप शाह र काजी वंशराजको नेतृत्वमा भक्तपुर सर भएतापनि आफ्नो नीति विरुद्ध भक्तपुरे सेनालाई मार्दा श्री ५ पृथ्वीनारायण शाह आफ्ना भाइसँग रिसाई भक्तपुर विजयको शिरपाउ काजी वंशराज पाँडेलाई दिएका थिए । यसबाट काजी वंशराज पाँडे राजाका नीतिका पालक र युद्ध कुटनीतिक तथा प्रखर राजभक्त थिए भन्ने देखाउँछ यिनै गतिविधिका बीच बाइसे चौबिसेहरूले पश्चिम तर्फ गडबढ मच्चाउन तम्सेका कारण संवत् १८२५ चैत्रमा पृथ्वीनारायण शाहले काजी वंशराज र बक्सी केहर सिंह बस्नेतलाई थोरै फौजका साथ नाम चलेका सेनापतिको रूपमा चौबिसेलाई तर्साउन पठाएका थिए । स्वयं राजाको ध्यान चाँहिं विजयपुर र चौदण्डी जस्ता धेरै राजश्व उठ्ने तराईका राज्यहरू नेपालमा गाभ्ने तर्फ थियो, साथै दुधकोशीबाट सिक्किमसम्म नेपालको सिमाना बाँध्ने अभिलाषा पनि । पश्चिमतर्फ दुईमोर्चा बनाई उत्तरतर्फ लमजुङ्ग र कास्कीबाट काजी वंशराज र दक्षिणतर्फ तनहुँ, रिसिङ्ग, घिरिङ्गबाट बख्सी केहर सिंह बस्नेत अघि बढे, चौबिसेलाई कब्जामा लिन दक्षिणको मोर्चामा काजी वंशराजका भाई सरदार रणशुर पाँडे पनि सम्मिलित थिए । दुवै मोर्चाका फौजले बाटोमा पर्ने चौबिलेलाई थोरै परिश्रममा कब्जा गरि स्याङ्गजामा दाखिल भए । तर संवत् १८२९ जेठमा भीरकोट पुगेका बख्सी केहर सिंहले आफ्ना फौजका साथमा लड्दै गएका १०० जना तनुहीँ फौजलाई भीरकोटको लडाइँमा पछि हटेको बात लगाइँ थलामै मार्दा विपरित असर पर्न गई चौबिसेहरू चिढिनाले पर्वते राजा किर्तिवम मल्लको नेतृत्वमा गोरखाली फौजसँग सतहुँमा संवत् १८२९ पौष १ मा लडाइँ भयो । यस लडाइँमा बख्सी केहर सिंह बस्नेत मारिए भने वंशराज घाइते अवस्थामा पक्राउ परे, सरदार प्रभु मल्ल र सरदार रणशुर पाँडे बन्दी बनाई ढोरमा लगिए । संवत् १८०० पछि प्रायः सबै लडाइँमा हराइएका चौबिसेहरूसँग यो हारले श्री ५ पृथ्वीनारायण शाहलाई अति नै दुखित तुल्यायो । संवत् १८३१ माघ १ गते श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट देवीघाटमा स्वर्गारोहण भयो, आफ्नो ३४-३५ बर्षको उमेरसम्म ज्योति स्वरूप मानेका राजा आफु युद्धबन्दी बनेका बखत त्यो ज्योति निभ्यो । सोही दिन प्रताप सिंह शाह नेपालका राजा भए, केही दरबार भँडुवा भारदारहरूको चुक्लिमा राज्यरोहणको दुई हप्ताभित्रै १७ बर्षका भाई बहादुर शाह र काका दलमर्दन शाह नुवाकोट दरबारमा नजरबन्दमा परे । यस घटनाले ३१ बर्षसम्म १ दिल, १ ज्यान र १ मुख भएर शत्रुसँग लडेका राजा र भारदार बीच फाटो शुरु भयो । उता वंशराज भने बेनीमा युद्धबन्दी नै रहेका र संवत् १८३३ को शुरूमा छुटकारा भई नेपाल फर्के । संवत् १८३३ श्रावण १५ मा पश्चिम तिर सन्धी गर्न काजी वंशराज पाँडेलाई राजा प्रताप सिंह शाहले खटाए भने संवत् १८३३ भाद्र वदी ३ रोज ६ मा राजाबाट उनलाई देवानमा नियुक्ति गरिंदा राजा पृथ्वीनारायणको पालामा वंशराजले विशाल नेपाल निर्माणमा प्रदान गरेको योगदानले अझ सार्थकता पायो । उनकै कार्यकालमा नेपाली फौजले सिक्किम कब्जा गर्‍यो । बाबुको पालामा कन्काई सीमा भएको नेपाल भू-भागमा राजा प्रतापसिंहको पालामा बुद्धकर्ण राईलाई सखाप पारी नेपालको सिमाना सिक्किम पुग्यो भने यता चित्तौन प्रान्त पनि नेपालमा गाभियो र प्रतापसिंह शाहको अन्त्यकालसम्म काजी वंशराज नेपालको देवान (मुख्यमन्त्री) रहे । संवत् १८३४ मा २६ बर्षको उमेरमा राजा प्रतापसिंह शाहको निधन भयो । तत्पश्चात् अढाई बर्षका रणबहादुर शाह राजा र राजमाता राजेन्द्रलक्ष्मी राजसहायक बनिन् । यो खबर पछि बेतिया पलायन भएका बहादुर शाह फर्केको केही समय पश्चात् राज्य विस्तार गर्ने बहादुर शाहको मत र विजित राज्यको संरक्षण गरि छोराको राजगद्दी दिगो राख्‍ने राजेन्द्रलक्ष्मीको मत बाझिँदा भारदारका बीच मतभेद पैदा भयो । काजी वंशराज, काजी दामोदर, काजी अभिमानसिंह लगायतले बहादुर शाहको विचारलाई समर्थन गरे भने काजी सर्वजीत राना, काजी स्वरूपसिंह कार्की आदिले राजमाताको पक्ष लिए । श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेशमा “पुर्व पश्चिमका खस बाहुनलाई दरबारमा पैठ हुन नदिनु, क्यान भनौला वाहिदा मान्छ्याले दरबारमा विथिति गराउँछन्” भन्ने संकेत पूर्वका स्वरूपसिंह कार्की र पश्चिमका ब्राह्मण वृजनाथ पौडेललाई दृष्टिगत गरि भनिएको प्रमाणित हुन थाल्यो । राजमाता राजेन्द्रलक्ष्मीको नायवी कालमा बहादुर शाहको पक्षको भारदार भनी काजी वंशराज पाँडे पाखा पारिए । यसरी धमिलिएको वातावरण राजेन्द्रलक्ष्मी र बहादुर शाहका बीच एकअर्कालाई बन्दी बनाउँने सम्मका गतिविधि भए । बहादुर शाह तेस्रो पटक बेतिया भासिए । पृथ्वीनारायण शाहको पालाका धेरै जसो भारदार काजी वंशराज पाँडे समेत बहादुर शाहकै पछि लागि बेतियातर्फ लागे ।

गोरखा दरबारको गृहकलहले राज्य कमजोर हुँदा पश्चिमका बाइसे चौबिसे र पूर्वका बुद्धकर्ण राईकी विधवा, लमजुङ्गे, पर्वते सबै राजा र पाल्पाका राजा मोहदत्त सेन समेत गोरखालीको खिलाफ जुटे, चौबिसेसँग गोरखालीको लडाइँ फेरी शुरु भयो । चौबिसेहरूले सिह्रानचोक सर गरि गोरखा राज्यमा खुट्टा हाले । यसै क्रममा कास्कीका राजा सिद्धिनरसिंहलाई शरण दिएवापत पर्वत र लमजुङ्गसँग फेरी लड्नुपर्ने हुँदा बेजोड सेनापतिको खोजी गर्ने क्रममा काजी वंशराज र काजी दामोदर पाँडेलाई दलमुख बनाई लड्न पठाउने मनसुवाले राजमाताले बेतियाबाट दुई भाई नै बोलाइए । सबै कुरा बिर्सिएर नेपालको अर्जीलाई बहादुर शाहको अनुमतिले स्वीकार गरि भाई दामोदर पाँडेका साथ काजी वंशराज काठमाडौं फर्किए ।

युद्ध लड्दा लड्दा खली पल्टेका वीर काजी वंशराजले चौबिसेको ढन्नेसो ठानिएको लमजुङ्गलाई एकलाश पार्ने रणनीति अख्तियार गरि तनहुँलाई चौबिसेबाट फुटाई पर्वते राजा कीर्तिवम मल्ललाई कास्कीबाट पर्वत तर्फ धपाई पर्वत र लमजुङ्गको संसर्ग विच्छेद गरे । दाह्रे गौंडामा पर्वते फौजमाथि अमरसिंह थापा समेतको गोरखाली फौजले आक्रमण गरेपछि पर्वते राजा पाल्पातर्फ भागेपछि कास्की सर भयो, काजी वंशराजले चेते र चिसापानी कब्जा गरेपछि लमजुङ्गे राजा पनि पाल्पा तर्फ भागे र बर्ष दिन भित्रै लम्जुङ्ग, तनहुँ र कास्की उपर विजय भयो । यो घटना संवत् १८४० को थियो र यसका नायक थिए काजी वंशराज पाँडे, त्यो कृत्य वापत भक्तपुर विजयमा जस्तै शिरपाउको हक काजी वंशराजमा निहित थियो तर विडम्बना काजी वंशरा उपर लमजुङ्गे र पर्वते राजालाई भाग्ने मौका दियो भन्ने आरोप लगाईयो । श्री ५ पृथ्वीनारायण शाहको एकीकरण अभियानको ३२ लडाइँ मध्ये १० लडाइँका दलमुख, आजन्म देश र नरेशको वफादार भारदारलाई बहादुर शाहको गुटको भन्ने आरोप लगाइ पाखा लगाइए । श्री ५ पृथ्वीनारायण शाहको पालामा ११ बर्षसम्म मन्त्री भएका राजभक्त काजी वंशराजलाई १८४० को अन्त्य तिर काठमाडौंमा थुनियो र बिना पूर्पक्ष संवत् १८४२ साल वैशाख १२ को राती हनुमानढोकाको भण्डारखालमा ४६ बर्षको उमेरमा नृशंस हत्या गरी उनको ईहलीलाको अवसान गराईयो ।

इतिहास शिरोमणि बाबुराम आचार्यले “यस महान एकीकरण कार्यलाई सम्पन्न गराउनका निमित्त तन, मन र धन समर्पण गर्ने यीनका भारदारहरूमा काजी कालु पाँडे, काजी तुलाराम पाँडे, काजी वंशराज पाँडे बख्सी केहर सिंह बस्नेत, काजी श्री हर्षि पन्थका नाम पनि चीरस्मरणीय भएका छन्” भनी प्रशंसा गरेको पाइन्छ । यस्ता बिर्सी नसक्नुका वीर पुरुष र देशभक्त थिए काजी वंशराज पाँडे ।

अस्तु ।

नोटः- आज संवत् २०८१ वैशाख ८ गते शनिवार ७ बर्षका छोराको ऐंसेलु खाने रहर पुरा गर्न डाँडाकाँडा चहार्ने क्रममा नेपालको राजधानी काठमाडौंको पश्चिमतर्फ रहेको दहचोक स्थित स्वीजरल्याण्ड पार्कको नामले प्रख्यात अति नै रमणीय तथा मनमोहक ठाउँ जहाँ कालु पाँडेको सालिक, भ्यूटावर र गोर्खालीहरूले नेपाल एकीकरणको क्रममा विक्रम संवत् १८१४ स्थापना गरेको मनकामना माईको मन्दिर पनि छ । त्यो मनकामना मन्दिर सँगै रहेको नेपाली सेनाको उपत्यका पृतना अन्तरगत युद्धकवच गणको पहलमा निर्माण गरिएको काजी वंशराज पाँडे सत्तलको पछाडि रहेको शीलालेखमा भएको कुरा जस्ताको तस्तै उतार्ने कोशिस गरेको छु । अहिले नयाँ पुस्ताले हाम्रो इतिहास भुल्दै गएका छन् । खै कसको ईशारामा हो या नवशासकहरूको मन्दबुद्धिका कारण हो पाठ्यपुस्तकहरूबाट पनि नैतिक शिक्षा र नेपालको इतिहास क्रमशः हटाइदै गइएको छ त्यसैले यो ठाउँमा धेरै जना पुगे पनि यति लामो शीलालेख सबैले पढ्ने गरेका हुँदैनन् त्यसैले यहाँ सरलताका लागी पोस्ट गरेको छु यदि यहाँलाई पनि ती वीर वंशराज पाँडेको जीवनी नवपुस्तासम्मलाई सहजरूपमा पुर्याउने रहर भए यसलाई निर्धक्कका साथ शेयर गर्नुहोला । 
रेडियो नेपालको अनलाईन प्रसारण

Thursday, March 30, 2023

अमरनाथ यात्रा

यात्रा संस्मरण~ (अमरनाथ यात्रामा भारतीय सैनिक सँगको घनिष्ठता) सन् २००८ को जुलाई महिना तिरको कुरा हुनुपर्छ म भारतको जम्मू कश्मीर राज्यमा अवस्थित अमरनाथ यात्राको क्रममा थिएँ साथमा काठमाडौं बत्तीस पुतली घर बताउने विष्ट थरका एक युवा हुनुहुन्थ्यो । ऋषिकेशबाट जम्मूतवी सम्म रेलमा गयौं र एकरात जम्मुमा बसेर जम्मूबाट पहलगांव सम्म जीपमा गयौं । बेलुकीको समय पहलगांव पुगेको हुनाले त्यो रात त्यही बास बस्यौं । पहलगांवबाट हाम्रो यात्रा सुरू हुनेवाला थियो यात्राको पूरा तयारी र कहाँ के गर्ने न गर्ने र कसरी यात्रा गर्ने भन्नेकुरा जानकारी दिनको लागि तथा तीर्थ यात्रीहरूको सुरक्षाको लागि भारतीय सेनाले त्यहीँबाट यात्राको पास र जानकारी दिने कुरा एक जनाले बताए । हामी खाना खाएर सूचना केन्द्र तिर गयौं । त्यहाँ एक सैनिक अधिकारी बसेका रहेछन् सैनिक पोशाकमा उनलाई देख्दै भित्रबाट उनीप्रति आदर प्रकट गर्न मन लाग्यो मैले नमस्कार गरें । हुन त सानो छँदा देखिनै बुवाले शाही नेपाली सेनामा जागीर खाँदाका अनुभव, सैनिक अनुशासन आदिका कुराले गर्दा कुनै पनि देशका सैनिक प्रति मलाई श्रद्धा लाग्छ । उहाँले बस्न भन्नुभयो बस्यौं र केही गफ भयो हामीले हामी नेपालबाट आएका र यात्रा अनुमति पत्र लिनुपर्ने भन्ने कुरा थाहा पाएर उहाँलाई भेटेको कुरा जानकारी गरायौं । खै उहाँले हाम्रो अनुहारमा हेरेर के सोच्नु भयो कुन्नि अङ्ग्रेजीमा जवाफ दिनुभयो "योङ्ग म्यान त्यो पनि नेपालबाट आएका तपाईंहरूलाई पास चाइन्न यात्रा अवधिभर कहीं केही भयो भने मलाई सम्पर्क गर्नु" हामी उहाँ प्रति कृतज्ञता प्रकट गरेर बाहिर निस्केर आफ्नो विश्राम स्थल तर्फ लाग्यौं ।

भोलिपल्ट बिहान हामी पहलगांवबाट बसमा चंदनबाड़ी तर्फ गयौं त्यहाँबाट हाम्रो पैदल यात्रा शुरु हुनेवाला थियो । यात्रालाई आवश्यक पर्ने केही सामग्री किनेर हामी पैदल यात्रा शुरू गर्यौं । करिब ५० / ५० मीटरको दूरीमा हतियार सहित सेना उभिएका र ठाउँ ठाउँमा यात्रीहरुलाई विश्राम तथा खानाको व्यवस्था गरिएको रहेछ । हामी दिनको करिब दुई बजे पहिलो विश्राम स्थल सम्मको यात्रा तय गरेउ । हिमाली क्षेत्रमा बेलुकाको समयमा हिमपात हुने र नजिकै विश्राम स्थल न हुने हुनाले अगाडिको यात्रा भोलिमात्र गर्नुपर्ने रहेछ हामी त्यही बस्यौ । काठमाडौं मा नै हुर्किएका र कतै उच्च हिमाली क्षेत्रमा नगएका हुनाले मेरा मित्रलाई हाई अल्टीचुट का कारण केही समस्या देखियो । राती सुत्न सकेनन् ज्वरो र डायरिया भयो । त्यही रहेको सैनिक स्वास्थ्य सेवा केन्द्रमा गयौं केही मेडिसिन दिएर आराम गर्नभने । तर पनि उनलाई समस्या भै नै रह्यो ड्युटीमा रहेका सैनिक पटक पटक आएर हाम्रो टेन्टमा सोधपुछ गरिरहे जाडोले होला भनेर अर्को सिरक लिएर ओढाई दिए । सायद बिहानीपख उनलाई केही आराम भयो एक्छिन निदाए । बिहान करिब सात बजे तिर हामी फेरि स्वास्थ केन्द्र गयौं केही तातो चीज खाने र घाम लागेपछि मात्र निस्कने सल्लाह दिए । साथी निकै आत्तिएका थिए । हुन पनि अमरनाथ सम्मको यात्रा तय गर्न अरु दुईदिन यात्रा गर्नुपर्ने थियो । हामीले केहीछिन बसेर निर्णय गरेउ उनलाई खच्चरमा पठाउने र म पैदल नै यात्रा गर्ने । अर्को विश्राम स्थल पञ्चतरणी थियो त्यो दिन चार बजे अगाडि मात्र त्यहाँ बाट पार गरेमा अमरनाथ त्यै दिन पुग्न सकिन्थ्यो नत्र अर्को दिनमात्र जान पाइन्थ्यो । उच्च हिमाली क्षेत्र रहेकाले त्यहाँ फोन सम्पर्क हुने त कुरै थिएन । म चार बज्न लाग्दा पञ्चतरणी पुगें । भोक लागे पनि खाना खान नथाली अगाडि बढेँ। झमक्क साँझ पर्दा म अमरनाथ पुगें । साथीलाई खच्चर वालाले दिउँसै अमरनाथ नजिकको विश्राम स्थल सम्म पुर्याएछ र मेरो बाटो हेर्दै बसि रहेका रहेछन् । सोमबार को दिन थियो त्यसै दिन दर्शन गरौं भनेर हामी अमरनाथ गुफा तर्फ लागेउ दर्शन गरेर केही तल लगाइएका टेन्ट तर्फ लागेउ । हिउँ जमेको ठाउँमा हिउँ लाई नै काटेर त्यहाँमाथि टेन्ट बनाइएको रहेछ त्यही नै हामीले त्यो रात बिताउनु पर्ने थियो । रातमा फेरि पनि उनलाई समस्या भयो । त्यहाँ रहेका सैनिक सँग सम्पर्क गरें केही बेरमा मेडिसिन र तातो तातो चिया लिएर एक सैनिक जवान हाम्रो टेन्टमा आए टेन्ट व्यवस्थापन गर्ने व्यक्तिलाई सिरक डसना थप्न भनेर गए ....... क्रमश:

उत्तरकाशीका दया हराएका "दयाशंकर"

यात्रा संस्मरण~ २०६३ साल जेष्ठ महिना थियो सायद, म ऋषिकेशबाट उत्तरकाशी तर्फ लागेको थिएँ । उत्तरकाशी बसाईमा एक संस्थामा निर्माणको काम हेर्ने क्रममा एक ठेकेदारसँग धेरै सुमधुर सम्बन्ध भएको थियो । उनले आफ्ना व्यक्तिगत कुराहरू पनि सहजरुपमा शेयर गर्थे । गढवाली ब्राह्मण परिवारका उनी सानो उमेरमा उत्तरकाशी कै केही सन्यासी आश्रमहरूमा आश्रय लिएर अध्ययन गरेका रहेछन् । सायद त्यसैको प्रभाव होला उनको उत्तरकाशीका प्राय: सबै आश्रमका सञ्चालकहरूसँग राम्रो सम्बन्ध थियो । आश्रमहरूको निर्माणको काममा प्राय: उनलाई नै बोलाउने गर्दा रहेछन् । आश्रमको मात्र होइन, गङ्गा किनारा हुने अधिकांश सरकारी काम पनि प्रायः उनैले हात पार्ने गर्दा रहेछन् । केही धार्मिक प्रकृतिका देखिनेे दयाशंकर नामक ती व्यक्तिसँग काम गर्ने अधिकांश मजदुरहरू नेपालगन्ज तिरका नेपाली चौधरी भाइहरू थिए । हाम्रो आवास नजिकै गङ्गा किरानामा गंगाजीको बहावबाट हुने कटान रोक्नको लागि तटबन्धको काम भइरहेको थियो । चर्को घाममा न्यून ज्यालामा काम गर्ने ती सोझा मजदुरहरू प्रति मलाई अत्यन्तै दया लाग्थ्यो । दिनमा एकपटक चिया पकाएर केही बिस्कुटहरू किनेर दिने गर्थें । एकदिन चिया बिस्कुट दिँदै गर्दा ठेकेदार जी आइपुगे । नदी किनारा अर्काको काम गरिरहेका ती मजदुरहरुलाई आफ्नो पैसाले खाजा खुवाएको देख्दा उनलाई आश्चर्य लागेछ छेउमा आएर भने, मोहन जी, "हम दोस्तों के साथ दारू पीने लगे तो हजारों उड़ा देते किंतु यह गरीब मजदूरों चाय पिलाने का सोच कभी नहीं आया, उत्तरकाशी जैसी पुण्यक्षेत्र मे ब्राह्मण कुलमे पैदा होकर भी मजदूरों के प्रति बहुत अत्याचार किया हूं......" आदि इत्यादि धेरै भने । सामान्यतया हामी व्रत बस्ने, मन्दिर जाने, पूजा आजा गर्ने व्यक्तिलाई धार्मिक भनेर चिन्ने गर्छौ तर धार्मिक देखिने र देखाउने क्रममा आफ्नो धर्म भुलिरहेका हुन्छौं । यो सानो प्रसंग यहाँ कोट्याएर कसैलाई होच्याउने प्रयास गरेको भने पटक्कै होइन । जो जहाँ छौ त्यो पद, स्थान, पेशा आदिको धर्म बुझेर आ-आफ्नो धर्म निभाउने हो भने सायद समाज परिवर्तन हुन समय धेरै लाग्दैन कि? 🙏