Thursday, March 30, 2023

उत्तरकाशीका दया हराएका "दयाशंकर"

यात्रा संस्मरण~ २०६३ साल जेष्ठ महिना थियो सायद, म ऋषिकेशबाट उत्तरकाशी तर्फ लागेको थिएँ । उत्तरकाशी बसाईमा एक संस्थामा निर्माणको काम हेर्ने क्रममा एक ठेकेदारसँग धेरै सुमधुर सम्बन्ध भएको थियो । उनले आफ्ना व्यक्तिगत कुराहरू पनि सहजरुपमा शेयर गर्थे । गढवाली ब्राह्मण परिवारका उनी सानो उमेरमा उत्तरकाशी कै केही सन्यासी आश्रमहरूमा आश्रय लिएर अध्ययन गरेका रहेछन् । सायद त्यसैको प्रभाव होला उनको उत्तरकाशीका प्राय: सबै आश्रमका सञ्चालकहरूसँग राम्रो सम्बन्ध थियो । आश्रमहरूको निर्माणको काममा प्राय: उनलाई नै बोलाउने गर्दा रहेछन् । आश्रमको मात्र होइन, गङ्गा किनारा हुने अधिकांश सरकारी काम पनि प्रायः उनैले हात पार्ने गर्दा रहेछन् । केही धार्मिक प्रकृतिका देखिनेे दयाशंकर नामक ती व्यक्तिसँग काम गर्ने अधिकांश मजदुरहरू नेपालगन्ज तिरका नेपाली चौधरी भाइहरू थिए । हाम्रो आवास नजिकै गङ्गा किरानामा गंगाजीको बहावबाट हुने कटान रोक्नको लागि तटबन्धको काम भइरहेको थियो । चर्को घाममा न्यून ज्यालामा काम गर्ने ती सोझा मजदुरहरू प्रति मलाई अत्यन्तै दया लाग्थ्यो । दिनमा एकपटक चिया पकाएर केही बिस्कुटहरू किनेर दिने गर्थें । एकदिन चिया बिस्कुट दिँदै गर्दा ठेकेदार जी आइपुगे । नदी किनारा अर्काको काम गरिरहेका ती मजदुरहरुलाई आफ्नो पैसाले खाजा खुवाएको देख्दा उनलाई आश्चर्य लागेछ छेउमा आएर भने, मोहन जी, "हम दोस्तों के साथ दारू पीने लगे तो हजारों उड़ा देते किंतु यह गरीब मजदूरों चाय पिलाने का सोच कभी नहीं आया, उत्तरकाशी जैसी पुण्यक्षेत्र मे ब्राह्मण कुलमे पैदा होकर भी मजदूरों के प्रति बहुत अत्याचार किया हूं......" आदि इत्यादि धेरै भने । सामान्यतया हामी व्रत बस्ने, मन्दिर जाने, पूजा आजा गर्ने व्यक्तिलाई धार्मिक भनेर चिन्ने गर्छौ तर धार्मिक देखिने र देखाउने क्रममा आफ्नो धर्म भुलिरहेका हुन्छौं । यो सानो प्रसंग यहाँ कोट्याएर कसैलाई होच्याउने प्रयास गरेको भने पटक्कै होइन । जो जहाँ छौ त्यो पद, स्थान, पेशा आदिको धर्म बुझेर आ-आफ्नो धर्म निभाउने हो भने सायद समाज परिवर्तन हुन समय धेरै लाग्दैन कि? 🙏

No comments:

Post a Comment