Friday, March 24, 2023

संसारमा रहेका मुक्त र बद्ध



यात्रा संस्मरण~ सन् २००७ को जनवरी महिना थियो म भारतको गढवाल क्षेत्रमा पर्ने उत्तरकाशीमा पुगेको थिएँ । दिनको समय थियो, जाडो महिना, गङ्गा-किनारा एक सन्त सँग बसेर न्यानो घामको आनन्द लिँदै केही आध्यात्मिक चर्चा हुँदै थियो । अचानक मेरो आँखा गङ्गाजीमा बगिरहेका दुई किशोरमा पर्छ । म झसङ्ग भएँ अनि ती सन्तलाई भनें ती दुई जना त बगिरहेका छन्, लौ न बचाउनु पर्यो । उनी मुस्कुराउँदै भने, "ती दुई किशोरमा एक तिमीले भने जस्तै बगिरहेको छ ऊ पौडी खेल्न जान्दैन किन्तु दोस्रो किशोर बगिरहेको आफ्नो साथीलाई उद्धार गर्न गएको हो उ राम्रो सँग पौडिन पनि जान्दछ र साथीलाई कसरी किनारा लगाउने कुरा पनि जान्दछ । केही बेर बगेपछि जहाँ नदीको वेग कम छ र किनारा सहज छ त्यहाँ उसले आफ्नो साथीलाई उद्धार गर्छ तर नदीको वेग संगै उ पनि उसको साथी संगै बगिरहेको देखिन्छ । सामान्य मानिसको दृष्टिमा नदीमा दुईजना नै बगिरहेका देखिन्छन् किन्तु दुई किशोरहरूको मनको अवस्था हेर्ने हो भने एक एकदम आत्तिएको र भयभीत छ भने अर्को सामान्य अवस्थामा छ । संसारमा पनि यस्तै हुन्छ । प्रारब्ध रूपी नदीको वेगमा सबै बगिरहेका छन् जो मुक्त छ त्यो पनि बगिरहेको छ जो बद्ध छ त्यो पनि बगिरहेको छ" ।

नभन्दै केही तल पुगेपछि दुईजना नै नदीकिनार तिर पुगेर निस्किए । हामी पनि आफ्नो गन्तव्य तिर लागेउँ ।

No comments:

Post a Comment