Thursday, March 30, 2023

अमरनाथ यात्रा

यात्रा संस्मरण~ (अमरनाथ यात्रामा भारतीय सैनिक सँगको घनिष्ठता) सन् २००८ को जुलाई महिना तिरको कुरा हुनुपर्छ म भारतको जम्मू कश्मीर राज्यमा अवस्थित अमरनाथ यात्राको क्रममा थिएँ साथमा काठमाडौं बत्तीस पुतली घर बताउने विष्ट थरका एक युवा हुनुहुन्थ्यो । ऋषिकेशबाट जम्मूतवी सम्म रेलमा गयौं र एकरात जम्मुमा बसेर जम्मूबाट पहलगांव सम्म जीपमा गयौं । बेलुकीको समय पहलगांव पुगेको हुनाले त्यो रात त्यही बास बस्यौं । पहलगांवबाट हाम्रो यात्रा सुरू हुनेवाला थियो यात्राको पूरा तयारी र कहाँ के गर्ने न गर्ने र कसरी यात्रा गर्ने भन्नेकुरा जानकारी दिनको लागि तथा तीर्थ यात्रीहरूको सुरक्षाको लागि भारतीय सेनाले त्यहीँबाट यात्राको पास र जानकारी दिने कुरा एक जनाले बताए । हामी खाना खाएर सूचना केन्द्र तिर गयौं । त्यहाँ एक सैनिक अधिकारी बसेका रहेछन् सैनिक पोशाकमा उनलाई देख्दै भित्रबाट उनीप्रति आदर प्रकट गर्न मन लाग्यो मैले नमस्कार गरें । हुन त सानो छँदा देखिनै बुवाले शाही नेपाली सेनामा जागीर खाँदाका अनुभव, सैनिक अनुशासन आदिका कुराले गर्दा कुनै पनि देशका सैनिक प्रति मलाई श्रद्धा लाग्छ । उहाँले बस्न भन्नुभयो बस्यौं र केही गफ भयो हामीले हामी नेपालबाट आएका र यात्रा अनुमति पत्र लिनुपर्ने भन्ने कुरा थाहा पाएर उहाँलाई भेटेको कुरा जानकारी गरायौं । खै उहाँले हाम्रो अनुहारमा हेरेर के सोच्नु भयो कुन्नि अङ्ग्रेजीमा जवाफ दिनुभयो "योङ्ग म्यान त्यो पनि नेपालबाट आएका तपाईंहरूलाई पास चाइन्न यात्रा अवधिभर कहीं केही भयो भने मलाई सम्पर्क गर्नु" हामी उहाँ प्रति कृतज्ञता प्रकट गरेर बाहिर निस्केर आफ्नो विश्राम स्थल तर्फ लाग्यौं ।

भोलिपल्ट बिहान हामी पहलगांवबाट बसमा चंदनबाड़ी तर्फ गयौं त्यहाँबाट हाम्रो पैदल यात्रा शुरु हुनेवाला थियो । यात्रालाई आवश्यक पर्ने केही सामग्री किनेर हामी पैदल यात्रा शुरू गर्यौं । करिब ५० / ५० मीटरको दूरीमा हतियार सहित सेना उभिएका र ठाउँ ठाउँमा यात्रीहरुलाई विश्राम तथा खानाको व्यवस्था गरिएको रहेछ । हामी दिनको करिब दुई बजे पहिलो विश्राम स्थल सम्मको यात्रा तय गरेउ । हिमाली क्षेत्रमा बेलुकाको समयमा हिमपात हुने र नजिकै विश्राम स्थल न हुने हुनाले अगाडिको यात्रा भोलिमात्र गर्नुपर्ने रहेछ हामी त्यही बस्यौ । काठमाडौं मा नै हुर्किएका र कतै उच्च हिमाली क्षेत्रमा नगएका हुनाले मेरा मित्रलाई हाई अल्टीचुट का कारण केही समस्या देखियो । राती सुत्न सकेनन् ज्वरो र डायरिया भयो । त्यही रहेको सैनिक स्वास्थ्य सेवा केन्द्रमा गयौं केही मेडिसिन दिएर आराम गर्नभने । तर पनि उनलाई समस्या भै नै रह्यो ड्युटीमा रहेका सैनिक पटक पटक आएर हाम्रो टेन्टमा सोधपुछ गरिरहे जाडोले होला भनेर अर्को सिरक लिएर ओढाई दिए । सायद बिहानीपख उनलाई केही आराम भयो एक्छिन निदाए । बिहान करिब सात बजे तिर हामी फेरि स्वास्थ केन्द्र गयौं केही तातो चीज खाने र घाम लागेपछि मात्र निस्कने सल्लाह दिए । साथी निकै आत्तिएका थिए । हुन पनि अमरनाथ सम्मको यात्रा तय गर्न अरु दुईदिन यात्रा गर्नुपर्ने थियो । हामीले केहीछिन बसेर निर्णय गरेउ उनलाई खच्चरमा पठाउने र म पैदल नै यात्रा गर्ने । अर्को विश्राम स्थल पञ्चतरणी थियो त्यो दिन चार बजे अगाडि मात्र त्यहाँ बाट पार गरेमा अमरनाथ त्यै दिन पुग्न सकिन्थ्यो नत्र अर्को दिनमात्र जान पाइन्थ्यो । उच्च हिमाली क्षेत्र रहेकाले त्यहाँ फोन सम्पर्क हुने त कुरै थिएन । म चार बज्न लाग्दा पञ्चतरणी पुगें । भोक लागे पनि खाना खान नथाली अगाडि बढेँ। झमक्क साँझ पर्दा म अमरनाथ पुगें । साथीलाई खच्चर वालाले दिउँसै अमरनाथ नजिकको विश्राम स्थल सम्म पुर्याएछ र मेरो बाटो हेर्दै बसि रहेका रहेछन् । सोमबार को दिन थियो त्यसै दिन दर्शन गरौं भनेर हामी अमरनाथ गुफा तर्फ लागेउ दर्शन गरेर केही तल लगाइएका टेन्ट तर्फ लागेउ । हिउँ जमेको ठाउँमा हिउँ लाई नै काटेर त्यहाँमाथि टेन्ट बनाइएको रहेछ त्यही नै हामीले त्यो रात बिताउनु पर्ने थियो । रातमा फेरि पनि उनलाई समस्या भयो । त्यहाँ रहेका सैनिक सँग सम्पर्क गरें केही बेरमा मेडिसिन र तातो तातो चिया लिएर एक सैनिक जवान हाम्रो टेन्टमा आए टेन्ट व्यवस्थापन गर्ने व्यक्तिलाई सिरक डसना थप्न भनेर गए ....... क्रमश:

No comments:

Post a Comment