Monday, March 27, 2023

गुफामा भेटिनु भएका एक बाबाजी

यात्रा संस्मरण (गुफामा भेटिनु भएका एक बाबाजी)~ उत्तरकाशीबाट गंगोत्री पुगेको दिन (गोमूख गएको अघिल्लो दिन) दण्डी आश्रममा खाना खाएपछि गंगोत्री क्षेत्रमा एक्लै यता उता घुमिरहें । घुम्ने क्रममा मन्दिर भन्दा केही माथि एउटा ठूलो ढुङ्गा देखें । सुनेको थिएँ गंगोत्री क्षेत्रमा ठूला-ठूला गुफाहरू छन् र त्यहाँ तपश्वी साधु सन्तहरू बस्ने गर्छन् । नियालेर हेर्दा त्यो ढुङ्गा तिर जाने सानो गोरेटो देखें । मनमा कौतुहलता जागेर आयो बिस्तारै त्यो ढुङ्गा तिर पाइलाहरू बढाउँदै गए । दिनको करीब १२/१ बजेको समय हुनुपर्छ गंगोत्री चिसोलाई चिर्दै पारिलो घाम लागेको थियो । म नजिकै पुगें । ठूलो ढुङ्गाको अगाडि सानो सफा आँगन जस्तो रहेछ त्यहाँ एक ढुङ्गामा कम्बल ओछ्याएर घाममा बसेर गंगाजी तर्फ एकोहोरो हेरिरहेका एक दिव्य चेहरा भएका साधुलाई देखें । नजिकै गएर नतमस्तक भएर उहाँलाई प्रणाम गरें । सेतै फुलेका लामा-लामा दारी-कपाल, धपक्क बलेको अनुहार, तेजिला आँखा देख्दै भित्रबाट आनन्द महशुस भयो ।

उहाँले मैले भन्नु भन्दा पहिला नै लगभग मेरो बारेमा सबै कुरा भन्नुभयो मलाई आश्चर्य पनि लाग्यो । म चारधाम यात्रामा हिँडेको कुरा देखि नेपालबाट उत्तरकाशी हुँदै त्यहाँसम्म पुग्दा भएका धेरै कुराहरू भए । सबै कुराहरू यहाँ उल्लेख गर्न उपयुक्त पनि नहोला । मलाई गुफा भित्र हेर्न मन लागेको थियो, त्यसैले उहाँ सँग अनुरोध गरें । उहाँले त्यो विशाल ढुङ्गा मुनि रहेको आफ्नो गुफा देखाउनु भयो । गुफा भित्र पनि एक तेर्सो लामो ढुङ्गा रहेछ, हेर्दा खाटकै आकारको । त्यहीँ बसेर उहाँले आफ्नो साधना गर्ने गर्नु भएको रहेछ । भोलि गोमूख जाने कुरा गर्दा उहाँले पहिला त अहिले न जान भन्नुभएको थियो सायद उहाँलाई पूर्वाभास थियो कि हामीले भोलि निक्कै दुःख पाउनेवाला छौं भनेर । तर मैले जाने निधो गरें उहाँले एक पिताले पुत्रलाई सम्झाए जसरी सम्झाउनु भयो । जाने नि हो भने पनि बाटोमा खानेकुरा पाइँदैन भनेर उहाँले गुफा भित्रबाट निकालेर केही काजु, बदाम आदि दिनुभयो मैले पनि प्रसाद मानेर लिएँ ।
त्यसपछि पनि आफ्नो समय मिलाएर मैले पटक पटक उहाँलाई भेट्न जाने गरेको थिएँ । साधु-सन्तहरूले सहजै रूपमा आफ्नो पूर्व जीवनको बारेमा बताउँदैनन् । पछिल्लो पटक उहाँलाई सन् 2010 को अक्टुबर महिनामा गंगोत्रीबाट केही माथि एक कुटीमा भेटेको थिएँ । उत्तराखण्ड सरकारले सदियौं देखि साधु सन्तका लागि साधनामा प्रयोग भएका ती दिव्य गुफाहरूलाई असुरक्षित मानेर धमाधम भत्काउने गरकोले उहाँले प्रयोग गर्ने गुफा पनि नष्ट गरिएकोले रहेछ र त्यो कुटीमा बस्न थाल्नु भएको रहेछ । गफ गर्दै जाँदा उहाँले एक प्रसंगमा उहाँको उमेर त्यो बेला 87 वर्ष भएको र साधु हुनु पूर्व भारतको कलकत्ताको एक प्रसिद्ध कलेजबाट इन्जिनियिङ्गमा स्नातक तहको अध्ययन सकेर केही समय नोकरी गरेको र 27 वर्षको उमेरमा घर छोडेर साधु बन्नुभएको कुरा भन्नुभएको थियो । उहाँ साधनाका क्रममा नेपालको गोसाईं कुण्ड क्षेत्रमा पनि केही समय बस्नु भएको कुरा गर्नु भएको थियो । 

photo:


No comments:

Post a Comment