Friday, March 24, 2023

यात्रा संस्मरण~ उत्तराखण्डका चारधाम




यात्रा संस्मरण~ उत्तराखण्डका चारधाम यात्राको क्रममा तीन रात यमुनोत्रीमा बसेपछि अब दोस्रो धाम गंगोत्री तर्फ प्रस्थान गर्ने निर्णय भयो । बाटोमा भेटिएका तीर्थयात्रीहरू भेटिने र छुट्टिने क्रम जारी नै थियो । उत्तर प्रदेशका ती यात्री सँगको सहयात्रा जानकी चट्टी सम्म मात्र रह्यो । म जानकी चट्टीबाट बसमा उत्तरकाशी तिर लागें भने उनी त्यतैबाट पैदल यात्रामा गंगोत्री जाने बाटो तिर लागे । एकरात उत्तरकाशी बसेर म उत्तरकाशीबाट करिब १०० किमी दुरीमा रहेको गंगोत्री मन्दिर सम्म जीपमा गएँ । मन्दिरमा दर्शन गरेपछि गंगाजी पारी पट्टी रहेको दण्डी स्वामीजीको आश्रम तर्फ लागें । दण्डी आश्रमका तत्कालीन महन्त दण्डी स्वामी शान्तानन्दजीसँग उत्तरकाशी बसाईको क्रममा सामान्य चिनजान भएको थियो । उहाँको जन्मघर पनि नेपाल नै भएको कुरा एक प्रसंगमा भन्नु पनि भएको थियो तर मैले उहाँलाई नेपाल कहाँ के थरी आदि इत्यादि प्रश्न गर्ने दुस्साहस भने गरिन । उहाँको आश्रममा रहेको यात्री निवासमा सहजताका साथ एक अतिथिको रूपमा बसियो । खानपिन गरेर आश्रमको प्राङ्गणमा घुम्ने क्रममा विभिन्न ठाउँबाट आएका यात्रीहरू त्यहाँ भेटिए । यात्राको प्रचलन अनुसार गंगाजी को उद्गमस्थल गोमूखबाट जल लिएर केदारनाथ मन्दिरमा चढाउनु पर्ने रहेछ । त्यसैले मैले पनि गोमूख जाने निर्णय गरें । गंगोत्रीबाट गोमूख सम्म पुग्नको लागि १८ किलोमिटर हिमाली क्षेत्रमा पैदल यात्रा गर्नु पर्ने रहेछ । दण्डी आश्रममा नै भारतको पंजाब तिरबाट आएका ४ जना यात्रीहरूसँग चिनजान भयो । उहाँहरूको पनि गोमूख यात्रामा जाँदै गरेको कुरा थाहा पाएर सँगसँगै जाने प्रस्ताव गरें । उहाँहरूको पनि त्यो यात्रा पहिलो नै रहेछ । त्यसैले हामी भोलि बिहान सँगै यात्रामा जाने निधो गरेर विश्राम गर्न गयौं ।
बिहान करिब ८ बजे तिर हाम्रो यात्रा शुरु भयो केही अगाडि बढेपछि एकाएक मौसम परिवर्तन भयो र हिमपात शुरू भयो । हामी सँगै रहेका एक यात्रीले ठट्यौली पारामा भने "हिमालय का मौसम और बंबई का फेसन का कोई पता नहीं" । न भन्दै एकाएक मौसम बदलिएर भएको हिमपातले निकै चिसो पनि भएको थियो । त्यो क्षेत्रमा कुनै बस्ती थिएन । यात्राका समयमा त्रिपाल लगाएर बनाएका अस्थाई पसलहरू भने ठाउँ ठाउँमा भेटिन्थे । विश्वकै सर्वोच्च शिखर भएको देशमा जन्मिएर पनि हिउँ परेको प्रत्यक्ष अनुभव गर्न पाएको थिएन त्यसैले चिसो भए पनि मेरो लागि त्यो नयाँ अनुभव थियो । गंगोत्रीबाट करिब ७/८ किलोमिटर यात्रा तय गरेपछि लालबाबा आश्रम नामले प्रसिद्ध एक आश्रम भेटियो बिहानको खाना त्यहीं खायौं । हिमपात भएको हुनाले धेरै यात्रीहरू त्यहीं रोकिएका रहेछन् त्यसमा धेरै विदेशी यात्रीहरू पनि थिए । खाना खाने क्रममा केही जापानिज यात्रीहरूसँग चिनजान भयो । उनीहरू नेपालको लुम्बिनी लगायत क्षेत्रको भ्रमण गरेर भारत गएका रहेछन् त्यसैले पनि उनीहरूसँग म चाँडै नै घुलमिल भएँ । हिमपात सामान्य रहेकोले हामी त्यहाँ बस्नु भन्दा अगाडि बढ्ने निधो गरेर हिड्यौ ती जापानिजहरू पनि हामी सँगै जाने भनेर हिडे । हामी हिँड्दै गयौं हिउँ पनि परिनै रह्यो । जुन महिना भएकोले गर्दा हिउँ परे पनि त्यति धेरै जमेर बाटो नदेख्ने गरी चै भएन त्यसैले हामी सहज रूपमा नै गोमूख सम्म पुगेऊ । ठूलो ग्लेसियरको बीचमा गाईको मुख जस्तो आकृति बनेर भित्रबाट गंगाजी बगेर आउने गरेकाले पनि सायद गोमूख भनिएको होला । जे होस् हामी त्यहाँ पुगेर जल लिएर पुनः लाल बाबा आश्रमसम्म आइपुग्दा झमक्कै साँझ परेको थियो । चिसोले कठ्याङ्ग्रिएर र भोक लागेर थकित भए पनि त्यो यात्रामा धेरै अनुभव गरिएको थियो ।

No comments:

Post a Comment