Thursday, March 30, 2023

अमरनाथ यात्रा

यात्रा संस्मरण~ (अमरनाथ यात्रामा भारतीय सैनिक सँगको घनिष्ठता) सन् २००८ को जुलाई महिना तिरको कुरा हुनुपर्छ म भारतको जम्मू कश्मीर राज्यमा अवस्थित अमरनाथ यात्राको क्रममा थिएँ साथमा काठमाडौं बत्तीस पुतली घर बताउने विष्ट थरका एक युवा हुनुहुन्थ्यो । ऋषिकेशबाट जम्मूतवी सम्म रेलमा गयौं र एकरात जम्मुमा बसेर जम्मूबाट पहलगांव सम्म जीपमा गयौं । बेलुकीको समय पहलगांव पुगेको हुनाले त्यो रात त्यही बास बस्यौं । पहलगांवबाट हाम्रो यात्रा सुरू हुनेवाला थियो यात्राको पूरा तयारी र कहाँ के गर्ने न गर्ने र कसरी यात्रा गर्ने भन्नेकुरा जानकारी दिनको लागि तथा तीर्थ यात्रीहरूको सुरक्षाको लागि भारतीय सेनाले त्यहीँबाट यात्राको पास र जानकारी दिने कुरा एक जनाले बताए । हामी खाना खाएर सूचना केन्द्र तिर गयौं । त्यहाँ एक सैनिक अधिकारी बसेका रहेछन् सैनिक पोशाकमा उनलाई देख्दै भित्रबाट उनीप्रति आदर प्रकट गर्न मन लाग्यो मैले नमस्कार गरें । हुन त सानो छँदा देखिनै बुवाले शाही नेपाली सेनामा जागीर खाँदाका अनुभव, सैनिक अनुशासन आदिका कुराले गर्दा कुनै पनि देशका सैनिक प्रति मलाई श्रद्धा लाग्छ । उहाँले बस्न भन्नुभयो बस्यौं र केही गफ भयो हामीले हामी नेपालबाट आएका र यात्रा अनुमति पत्र लिनुपर्ने भन्ने कुरा थाहा पाएर उहाँलाई भेटेको कुरा जानकारी गरायौं । खै उहाँले हाम्रो अनुहारमा हेरेर के सोच्नु भयो कुन्नि अङ्ग्रेजीमा जवाफ दिनुभयो "योङ्ग म्यान त्यो पनि नेपालबाट आएका तपाईंहरूलाई पास चाइन्न यात्रा अवधिभर कहीं केही भयो भने मलाई सम्पर्क गर्नु" हामी उहाँ प्रति कृतज्ञता प्रकट गरेर बाहिर निस्केर आफ्नो विश्राम स्थल तर्फ लाग्यौं ।

भोलिपल्ट बिहान हामी पहलगांवबाट बसमा चंदनबाड़ी तर्फ गयौं त्यहाँबाट हाम्रो पैदल यात्रा शुरु हुनेवाला थियो । यात्रालाई आवश्यक पर्ने केही सामग्री किनेर हामी पैदल यात्रा शुरू गर्यौं । करिब ५० / ५० मीटरको दूरीमा हतियार सहित सेना उभिएका र ठाउँ ठाउँमा यात्रीहरुलाई विश्राम तथा खानाको व्यवस्था गरिएको रहेछ । हामी दिनको करिब दुई बजे पहिलो विश्राम स्थल सम्मको यात्रा तय गरेउ । हिमाली क्षेत्रमा बेलुकाको समयमा हिमपात हुने र नजिकै विश्राम स्थल न हुने हुनाले अगाडिको यात्रा भोलिमात्र गर्नुपर्ने रहेछ हामी त्यही बस्यौ । काठमाडौं मा नै हुर्किएका र कतै उच्च हिमाली क्षेत्रमा नगएका हुनाले मेरा मित्रलाई हाई अल्टीचुट का कारण केही समस्या देखियो । राती सुत्न सकेनन् ज्वरो र डायरिया भयो । त्यही रहेको सैनिक स्वास्थ्य सेवा केन्द्रमा गयौं केही मेडिसिन दिएर आराम गर्नभने । तर पनि उनलाई समस्या भै नै रह्यो ड्युटीमा रहेका सैनिक पटक पटक आएर हाम्रो टेन्टमा सोधपुछ गरिरहे जाडोले होला भनेर अर्को सिरक लिएर ओढाई दिए । सायद बिहानीपख उनलाई केही आराम भयो एक्छिन निदाए । बिहान करिब सात बजे तिर हामी फेरि स्वास्थ केन्द्र गयौं केही तातो चीज खाने र घाम लागेपछि मात्र निस्कने सल्लाह दिए । साथी निकै आत्तिएका थिए । हुन पनि अमरनाथ सम्मको यात्रा तय गर्न अरु दुईदिन यात्रा गर्नुपर्ने थियो । हामीले केहीछिन बसेर निर्णय गरेउ उनलाई खच्चरमा पठाउने र म पैदल नै यात्रा गर्ने । अर्को विश्राम स्थल पञ्चतरणी थियो त्यो दिन चार बजे अगाडि मात्र त्यहाँ बाट पार गरेमा अमरनाथ त्यै दिन पुग्न सकिन्थ्यो नत्र अर्को दिनमात्र जान पाइन्थ्यो । उच्च हिमाली क्षेत्र रहेकाले त्यहाँ फोन सम्पर्क हुने त कुरै थिएन । म चार बज्न लाग्दा पञ्चतरणी पुगें । भोक लागे पनि खाना खान नथाली अगाडि बढेँ। झमक्क साँझ पर्दा म अमरनाथ पुगें । साथीलाई खच्चर वालाले दिउँसै अमरनाथ नजिकको विश्राम स्थल सम्म पुर्याएछ र मेरो बाटो हेर्दै बसि रहेका रहेछन् । सोमबार को दिन थियो त्यसै दिन दर्शन गरौं भनेर हामी अमरनाथ गुफा तर्फ लागेउ दर्शन गरेर केही तल लगाइएका टेन्ट तर्फ लागेउ । हिउँ जमेको ठाउँमा हिउँ लाई नै काटेर त्यहाँमाथि टेन्ट बनाइएको रहेछ त्यही नै हामीले त्यो रात बिताउनु पर्ने थियो । रातमा फेरि पनि उनलाई समस्या भयो । त्यहाँ रहेका सैनिक सँग सम्पर्क गरें केही बेरमा मेडिसिन र तातो तातो चिया लिएर एक सैनिक जवान हाम्रो टेन्टमा आए टेन्ट व्यवस्थापन गर्ने व्यक्तिलाई सिरक डसना थप्न भनेर गए ....... क्रमश:

उत्तरकाशीका दया हराएका "दयाशंकर"

यात्रा संस्मरण~ २०६३ साल जेष्ठ महिना थियो सायद, म ऋषिकेशबाट उत्तरकाशी तर्फ लागेको थिएँ । उत्तरकाशी बसाईमा एक संस्थामा निर्माणको काम हेर्ने क्रममा एक ठेकेदारसँग धेरै सुमधुर सम्बन्ध भएको थियो । उनले आफ्ना व्यक्तिगत कुराहरू पनि सहजरुपमा शेयर गर्थे । गढवाली ब्राह्मण परिवारका उनी सानो उमेरमा उत्तरकाशी कै केही सन्यासी आश्रमहरूमा आश्रय लिएर अध्ययन गरेका रहेछन् । सायद त्यसैको प्रभाव होला उनको उत्तरकाशीका प्राय: सबै आश्रमका सञ्चालकहरूसँग राम्रो सम्बन्ध थियो । आश्रमहरूको निर्माणको काममा प्राय: उनलाई नै बोलाउने गर्दा रहेछन् । आश्रमको मात्र होइन, गङ्गा किनारा हुने अधिकांश सरकारी काम पनि प्रायः उनैले हात पार्ने गर्दा रहेछन् । केही धार्मिक प्रकृतिका देखिनेे दयाशंकर नामक ती व्यक्तिसँग काम गर्ने अधिकांश मजदुरहरू नेपालगन्ज तिरका नेपाली चौधरी भाइहरू थिए । हाम्रो आवास नजिकै गङ्गा किरानामा गंगाजीको बहावबाट हुने कटान रोक्नको लागि तटबन्धको काम भइरहेको थियो । चर्को घाममा न्यून ज्यालामा काम गर्ने ती सोझा मजदुरहरू प्रति मलाई अत्यन्तै दया लाग्थ्यो । दिनमा एकपटक चिया पकाएर केही बिस्कुटहरू किनेर दिने गर्थें । एकदिन चिया बिस्कुट दिँदै गर्दा ठेकेदार जी आइपुगे । नदी किनारा अर्काको काम गरिरहेका ती मजदुरहरुलाई आफ्नो पैसाले खाजा खुवाएको देख्दा उनलाई आश्चर्य लागेछ छेउमा आएर भने, मोहन जी, "हम दोस्तों के साथ दारू पीने लगे तो हजारों उड़ा देते किंतु यह गरीब मजदूरों चाय पिलाने का सोच कभी नहीं आया, उत्तरकाशी जैसी पुण्यक्षेत्र मे ब्राह्मण कुलमे पैदा होकर भी मजदूरों के प्रति बहुत अत्याचार किया हूं......" आदि इत्यादि धेरै भने । सामान्यतया हामी व्रत बस्ने, मन्दिर जाने, पूजा आजा गर्ने व्यक्तिलाई धार्मिक भनेर चिन्ने गर्छौ तर धार्मिक देखिने र देखाउने क्रममा आफ्नो धर्म भुलिरहेका हुन्छौं । यो सानो प्रसंग यहाँ कोट्याएर कसैलाई होच्याउने प्रयास गरेको भने पटक्कै होइन । जो जहाँ छौ त्यो पद, स्थान, पेशा आदिको धर्म बुझेर आ-आफ्नो धर्म निभाउने हो भने सायद समाज परिवर्तन हुन समय धेरै लाग्दैन कि? 🙏

Wednesday, March 29, 2023

दिल्लीका ५८ वर्षका एक अविवाहितको विवाह गर्ने रहर

यात्रा संस्मरण~ सन् २०१२ को जुलाई महिना थियो । हामी मुंबईबाट उत्तरकाशी फर्कने क्रममा थियौं । मेरा सहयात्री भारतीय जलसेनाका रिटायर्ड कर्णेल साहेब हुनुहुन्थ्यो । अघिल्ला प्रसङ्गहरूमा पनि मैले उहाँ संगको यात्राको बारेमा लेखेको छु । उहाँसँग उत्तरकाशी बसाईमा चिनजान भएर निक्कै घनिष्ट सबन्ध भएको थियो । भारत पाकिस्तान अलग हुँदा भएको दंगामा धेरै जना आफन्तहरू आफ्नै आँखा अगाडि रेटिए पछि ज्यान बचाउँदै धेरै कष्टका साथ कलकत्ता आइपुग्नुभएको रहेछ । पछि विभिन्न ठाउँ हुँदै दिल्लीको एक शरणार्थी क्याम्पमा बसेर पढाई गर्नु भएको रहेछ । दिल्लीमा अध्ययन गरेर भारतीय जलसेनाको उच्च पद सम्म पुग्दाका र रिटायर्डमेन्ट पश्चात् मुंबईमा सेटल हुँदा सम्मका उहाँको जीवनका धेरै तिता मीठा अनुभव सुन्दै उहाँसँग हामी मुंबई घुमेर फर्किदै थियौं । उहाँको एक जना दाजु दिल्लीमा सेटल हुनुभएको रहेछ । केही महिना अगाडि मात्र उहाँको दाजु भाउजुको झण्डै सँग संगै जस्तो निधन भएको कुरा सुनाउनु भएको थियो । दिल्लीमा हामी केहीदिन बस्नु नै थियो । हामी गोलमार्केट निर एक मेरो पूर्व परिचित मित्र कहाँ बसेका थियौं । एकदिन बेलुका तिर हामी धौलाकुवा तिर पैदल हिँड्दै थियौं, कर साहेबलाई उहाँको दाईको छोराले फोन गर्नुभयो । हाम्रो लोकेशन भनेपछि केही समयमा उहाँ कार लिएर हामीलाई लिन आउँनुभयो । दिल्ली धेरै पटक गएपनि म दिल्लीको राष्ट्रपति भवन, संसद भवन आदि मुख्य ठाउँहरू घुमेको थिइन । उहाँले गफ गर्दै करिब दुईघण्टा जति दिल्लीका महत्वपूर्ण ठाउँहरू कारबाटै घुमाउँदै अन्त्यमा आफ्नो घर लिएर जानुभयो । ठाउँको नाम त अहिले याद आएन, संसद भवनबाट धेरै टाढा थिएन । दिल्लीको मुटुमा रहेको ठूलो बङ्लो भित्र पस्यौं किन्तु सुनसान भुतघर जस्तो लाग्यो । उहाँ बुबा आमा सँग झगडा गरेर आफ्नो करियर बनाउन ४० वर्ष पहिला अमेरिका जानु भएको रहेछ । बुवा आमाको देहान्त पश्चात् मात्र दिल्ली फर्कनु भएको रहेछ । करियर बनाउने क्रममा उमेरले नेटो काटेको पत्तै भएन भन्नुभयो । ५८ वर्षको उमेर भएछ, करियर बनाउने चक्करमा बुबा आमा त छोड्नुभयो । विवाह गर्न पनि उचित सम्झनु भएन छ । त्यो दृश्य देख्दा मेरा त आँखा भरिएर आएँ । अब विवाह गर्ने भन्छन् अनि त्यो पनि सुन्दर कन्यासँग रे, विवाह पश्चात् बच्चा पनि होस् रे । मनमनै भने- "तिमी कसैको छोरो हुन सकेनौं भने बाबु हुने रहर? एक्लो छोरो भएर माता पितालाई छोडेर करियर बनाउन गयौं अब यो उमेरमा तिमी बिहे गर्ने अनि छोराको बाबु बन्ने? यो दिवा सपना देख्न छोड ।" तर मुखले भने केही भनिन । हाम्रो त्यसपछि सम्पर्क पनि भएन, मैले पनि कर साहेबलाई उनको भतिजाको बिहे भयो कि भएन भनेर त सोधिन तर आज अचानक त्यो दिन याद आयो खै किन किन हामी ........