Monday, March 27, 2023

यात्रा संस्मरण (वैशाख-नन्दन अर्थात् गधाको प्रसङ्ग)~ वि. सं. २०६३ साल वैशाख महिनाको कुरा हो, म त्यो बेला ऋषिकेशमा थिएँ । गर्मी महिनामा चारधाम यात्रामा जाने यात्रीहरुले गर्दा पनि प्रायः ऋषिकेश क्षेत्र भीडभाड नै हुन्छ । त्यो बेला पनि निक्कै भीड नै थियो । त्यो भीडमा धेरै नेपालीहरु पनि भेटिएका थिएँ कोही यात्री थिए, कोही विद्यार्थी थिए, कोही अन्वेषक थिए, कोही साधुसन्त थिए आदि इत्यादि । तर मलाई भने त्यो भीड सँग सम्बन्ध गाँस्नु भन्दा पनि त्यहाँ भन्दा अगाडि बढ्नु थियो । यात्रा हो भेटिने छुट्टिने क्रम त रहिरहन्छ भन्ने लाग्थ्यो । मैले केही समय पहिला नेपालमा हुँदै भारतको गढवाल क्षेत्रमा रहेको उत्तरकाशी भन्ने ठाउँको बारेमा सुनेको थिएँ । तर कहाँबाट जाने कति समय लाग्छ आदि सबै कुराको जानकारी थिएन । ऋषिकेश बसाईको क्रममा नै एकदिन उत्तरकाशीबाट ऋषिकेश आउनुभएका एक संतको दर्शन गर्ने मौका मिल्यो । दिव्य र हँसिलो अनुहार पहिलो दर्शनमा नै निक्कै आनन्दित महसुस गरेको थिएँ । न्याय, वेदान्त, व्याकरण, योग आदिको प्रकाण्ड विद्वान र अति नै सरल स्वभावका ती सन्तको जन्म पनि नेपालमा नै भएको हो भन्ने कुरा उहाँ सँग वेदान्त अध्ययन गर्नु भएका एक मित्रले मलाई उहाँ उत्तरकाशी गएपछि भन्नु भएको थियो ।
केहीदिन पछि म उत्तरकाशी तिर गएँ ऋषिकेशबाट १७५ किलोमिटर टाढा हिमालय र गङ्गाजीको काखमा रहेको सुन्दर र शान्त शहर उत्तरकाशी पुग्दा झमक्क साँझ परेको थियो । बसबाट ओर्लिएर बासस्थानको खोजीमा लागेँ । केही अगाडि उज्जेली भन्ने ठाउँमा कैलाश आश्रममा रहन बस्न सहज हुने भनेर मलाई एक जनाले ऋषिकेशमा सुझाव दिएका थिए । त्यसैले सोधखोज गर्दै कैलाश आश्रम पुगें तर त्यहाँका व्यवस्थापकले यहाँ अलिक भीड छ भनेर एक व्यक्तिलाई मलाई अन्यत्र नै लैजान निर्देश गरे । उनको निर्देशन अनुसार म ती व्यक्तिसँग स्कुटरमा शहर भन्दा केही पर गंगोत्री हाइवे भन्दा केही तल गङ्गाजीको किनारामा शान्त वातावरणमा रहेको सानो आश्रम सम्म पुगें । ऋषिकेशमा भेट भएका तीनै विद्वान् सन्त बस्ने आश्रम रहेछ त्यो । मलाई त "के खोज्छस् काना आँखो" भने जस्तो भयो । थाकेको हुनाले खाना खाएर त्यो रात त्यहीं विश्राम गरियो ।
उहाँको सानीद्यमा केही समय रहेको थिएँ । त्यो समय उहाँ बिहान कैलाश आश्रममा ब्रहमसूत्र अध्यापन गराउनु हुन्थ्यो भने दिनमा त्यहीं छान्दोग्योपनिषत् पढाउनु हुन्थ्यो । दिनको १ बजे तिर प्रायः हामीसँग बसेर चिया पिउँदै केही मीठा प्रसङ्ग निकालेर कुरा गर्नुहुन्थ्यो ।
गङ्गानदीको बगरबाट मानिसहरूले बिहान भरि गधालाई बालुवा र ढुङ्गा बोकाएर दिउँसोको समयमा चर्नको लागि छोडिदिन्थे त्यो दृश्य सधैं देखेर हामी बानी परिसकेका थियौं ।
बिहान मालिकले चाबुक र छडीले कुटीकुटी बोझ बोकाएर दिउँसो केही समयको लागि चर्न छोडेको बेला पनि भागेर नजिकै भएको जङ्गल तिर कहिले गएको देखिँदैन थिए ती गधाहरु । गधाहरूको दिनचर्या नै त्यहीं थियो । बिहान भरी मालिकले दिएको दुई मुठी चना चपाएर पिटाई खादै ढुङ्गा र बालुवाको बोझ बोक्ने र दिउँसो टन्टलापुर घाममा सुकेका त्यन्द्रातुन्द्री टिप्दै चर्ने ।
एकदिन उहाँले गधा चर्दै गरेको देखाउँदै एक प्रसङ्ग निकाल्नु भयो र भन्नुभयो- "गधालाई संस्कृतमा वैशाख-नन्दन भनिन्छ । संस्कृतमा कसैलाई गाली गर्नु पर्यो भने ग्रामसिंह (कुकुर अर्थात् गाउँको सिंह) बैशाख-नन्दन (वैशाखमा आनन्दित हुने, गधा) जस्ता शब्द प्रयोग हुन्छन् ।"
वैशाखमा सबै तिर सुख्खा हुन्छ तर पनि गधाहरु वैशाखमा नै हृष्टपुष्ट देखिन्छन् किन कि चर्दै जाँदा धेरै अगाडि पुगेका हुन्छन् र पछाडि फर्केर हेर्दा उनीहरूलाई लाग्छ कि आज पुरै फाँट नै चरिएछ धेरै खाइएछ । उनीहरूको सन्तोषको कारण पछाडिको खाली देखिएको फाँट हुन्छ ।
सन्दर्भ पनि ?
फोटो: स्वदेश नेपाल

1 comment:

  1. बडो रुचिका साथ पढिरहेको छु ।

    ReplyDelete