यात्रा संस्मरण~ सायद सन् २०१३ को जुलाई महिना हुनुपर्छ, ठ्याक्कै तिथि मिती त याद भएन । त्यो बेला म भारतको हिमाञ्चल प्रदेशको काँगडा जिल्लामा थिएँ । यात्राका क्रममा म अनेक किसिमका प्रयोगहरू गर्ने गर्थें । कहिले आफ्नो वास्तविकता लुकाएर हिड्ने, कहिले बिना पैसा हिड्ने, कहिले बसिरहेको ठाउँ र साथीहरू कसैले थाहा नै नपाउने गरी निस्कने आदि आदि ।
सुन्दा कसैलाई अचम्म लाग्न सक्छ, आज नयाँ प्रयोग गर्न मन लाग्यो । सोचें भोलि बिहानै कुनै गन्तव्य तय नगरी कतै एक्लै निस्कने । रातभरि झम झम पानी पर्यो । बिहान तीन बजे तिर उठेर स्नान आदि कार्य पूरा गरेर करिब ४ बजे तिर निस्किएँ । एक हातमा छाता अर्को पट्टि सानो ब्याग थियो । ब्यागमा एक सामान्य मोबाइल र केही पैसा अनि फेर्नको लागि एक जोर कपडा । बाटोमा निस्किएँ हिमाचल परिवहनको एक बस आयो । रोकेर त्यसैमा बसें । बस भित्र पसेपछि बसको अगाडि बसेका सहचालकले टिकट कहाँ सम्मको बनाऔं भनेर प्रश्न गरे । मैले प्रतिप्रश्न गरें, गाडी कहाँ सम्म जान्छ ? उनको उत्तर आयो "चण्डीगढ" । मैले उहीँ सम्मको बनाइदेउ भनें । केही घण्टाको यात्रा पश्चात् बस हिमाचल प्रदेशको उना सहरमा आएर रोकियो । सबैले खाना खाए, मैले पनि खाएँ ।
गाडी चल्ने तयारी भयो त्यही बीचमा हिमाचल परिवहनको दिल्ली जाने गाडी देखें । मैले पहिलाको गाडीका सहचालकलाई दिल्ली जाने कुरा गरेर टिकटमा हेरफेर गर्दिन भनें उनले टिकट मिलाइदिए म अब अर्को गाडी जुन दिल्ली जाँदै थियो त्यसमा बसें ।
बेलुका करिब ७/८ बजे तिर दिल्ली पुगें । हुन त दिल्लीमा केही परिचित व्यक्तिहरू थिए तर मैले कसैलाई सम्पर्क गरिन एक अनजान व्यक्ति अनजान सहरमा पुगे सरि एक रिक्सा चालकलाई धर्मशालाको बारेमा सोधें उसले नजिकैको धर्मशालामा पुर्यायो भित्र पसेर सामान्य सोधखोज पछि धर्मशालाका व्यवस्थापकले एक कोठाको चाबी दिए कोठा देखाउन जाने व्यक्तिको बोलीबाट थाहा पाएँ उनी नेपाली नै रहेछन् । मैले म हिमाचलबाट आएको नेपाल जान हिँडेको भने । एकछिनको कुराकानीमा नै हामी निकै नजिकका जस्ता भयौं । खाना खाने बेला भएको रहेछ खाना खाएर एक्छिन गफ गरियो र आराम गरियो । बिहान फेरि ती व्यक्ति सँग भेट भयो उनले नेपाल कहाँ जाने भने मैले भने पोखरा । उनले पोखराको लागि त दिल्ली देखि सीधा बस छ नि भने । मैले हुन्छ मलाई सम्पर्क गराई दिनु न त भने, ती व्यक्ति र म बस छुट्ने ठाउँ सम्म अटो रिक्सामा गयौं मलाई बस चढाएर उनी फर्किए ।
यात्राको क्रममा यस्तै कोही न कोही असल व्यक्ति भेटिए । भेटिएका व्यक्तिहरू सँग धेरै आत्मीयता भने बनाउदिन थिए, किन कि भेटिनु छुटिनु त संसारको रीत नै हो "कसैसँगको राग र द्वेष दुवै अन्त्यमा पीडादायक नै हुन्छन्" भन्ने कुरालाई म अक्षरशः पालना गर्ने गर्थें । म पोखरा आइपुगें विन्ध्यवासिनी मन्दिरमा दर्शन गर्न जाने विचार भयो दर्शन गरें त्यहाँका महन्तज्यूको दर्शन गरियो उहाँसँग एक्छिन बसियो गफ गाफ भयो । उहाँले पोखरा बसुन्जेल त्यही बस्न आग्रह गर्नुभयो मैले उहाँको आग्रहलाई स्वीकार गरेँ । उहाँको आग्रहमा खाना खान भोजनालय तिर लागियो । खाना खाएर बाहिर निस्कँदै थिए भोजनालय भन्दा माथि बाट एक अलिक वृद्ध व्यक्तिले बोलाए, आवाज दिएर बोलाए "हरिहर"।(प्रायः मन्दिर आश्रम तिर नाम थाहा नभएको या अपरिचित व्यक्तिलाई बोलाउँदा भगवानको नामले पुकार्ने गरिन्छ) मैले पनि जवाफ फर्काए "नारायण" हजुर । उहाँ सँग कुरा भयो उहाँ के गर्नु हुन्छ कहाँ बस्नुहुन्छ भन्नेकुरा र उहाँको व्यक्तिगत जीवनको बारेमा मैले पनि खास सोधिनँ उहाँले पनि सोध्नु भएन हाम्रो प्रायः दैनिक जस्तो भेट हुन्थ्यो पोखरा बसाईमा हामी निक्कै नजिक भयौं ।
प्रायः उहाँ बेलुका तिर गाडी लिएर आउने गर्नुहुन्थ्यो हामी कहिले सराङ्कोट तिर जान्थ्यौं, कहिले सिम्पानी तिर । बाटोमा गाडी र ड्राइभरलाई छोडेर हामी गफ गर्दै पैदल हिँड्थौ । जहाँ पुग्दा थकावट महसुस हुन्छ अनि ड्राइभरलाई बोलाउनु हुन्थ्यो । उहाँ सँग व्यक्तिगत भन्दा पनि आध्यात्मिक चर्चा बढी हुन्थे । हेर्दा सामान्य व्यक्ति देखिनु हुने अत्यन्त्यै सरल स्वभावका ती व्यक्तिको बारेमा न मैले सोधें न उहाँले बताउनु भयो धेरै पछि मात्र थाहा भयो उहाँ नेपालको एक ठूलै उद्योगपति हुनुहुँदो रहेछ । केही समय पोखरा बसेर मुक्तिनाथ दर्शन गर्न गएँ त्यस पछि म फेरि भारत तिरै फर्किए ............. क्रमशः
फोटो: खप्तड बाबा आश्रम, बुढानीलकण्ठ काठमाडौं
No comments:
Post a Comment