संस्मरण (थप्पड काण्डले सम्झाएको थप्पड)~ वि. स. २०५३ साल तिरको कुरा हो, महिना र गते त मलाई ठ्याक्कै याद भएन । त्यो बेला म आदर्श माध्यमिक विद्यालय ईलाम (ईलाम हाइस्कूल) मा कक्षा ८ मा पढ्थे । पूर्ण सरले हामीलाई अङ्ग्रेजी विषय पढाई रहनु भएको थियो । म एकहोरो भएर पूर्ण सरले पढाउँदै गरेको narration को क्लास सुन्दैन थिएँ । संगै बसेको मेरो साथीले मलाई एक्कासी काउकुती लगायो मेरो मुखमा खित्का छुट्यो । पूर्ण सर अगाडिबाट दौडेर आउँनु भयो र मेरो दाहिने कान जोडले तानेर देब्रे गलामा जमाएर थप्पड हान्दै भन्नुभयो "तँ अघि देखि हाँस्दैछेस्" (उहाँले केटालाई स्त्रीलिङ्गी क्रियापद र केटीलाई पुलिङ्गी क्रियापद प्रयोग गर्नुहुन्थ्यो) मैले त उहाँको थप्पडले तोरीको फूल नै देखेको थिएँ। जीवनमा पहिलो पटक आफूले गल्ती नगरे पनि त्यस्तो गज्जबको थप्पड खाएको अनुभव गर्न पाईयो भनेर म झन् हाँसे । न त म उहाँले भने जस्तो अघि देखि हाँसेको नै थिएँ न त त्यो हाँसो मेरो आफ्नै कारणले या सरको खिल्ली उडाउने उदेश्यले आएको थियो । त्यो हाँसोका पछाडिको रहस्य अर्कै थियो भन्ने कुरा न सरलाई कसैले भन्न नै सक्थे । पूर्ण सरको नाम सुन्दै सबै विद्यार्थीहरू डराउने गर्थे । कसैले उहाँलाई सीधा आँखाले हेर्ने हिम्मत सम्म गर्दैन थियो । उहाँको ठूलो आवाज अनि गाली गर्ने र बेला बेला हात नै छोड्ने बानीले त झन् सबै विद्यार्थीहरू डराउँथे।
म सधैं दोस्रो बेञ्चमा बस्थेँ । प्रत्येक बेञ्चमा ४ जना बसेका हुन्थ्यौं । मेरा साथमा अन्य ३ जना मित्रहरू हुन्थे । भित्ता पटी बस्ने मित्र प्रायः सँधै जसो सुतेर नै सारा क्लास बिताई दिन्थे भने मेरो छेउमा बस्ने एक तामाङ्ग थरका मित्र आफू चुपचाप बसेर पढाईमा ध्यान दिए जस्तो गरेर डेस्क मुनिबाट अरूलाई चिमोटने, काउकुती लगाउने गर्थे । म गाउँबाट आएको सोझो केटो मलाई त्यो सब मन पर्दैन् थियो सबैले पढाई तिरै ध्यान दिए हुने जस्तो लाग्थ्यो । तर कसैलाई भन्न पनि त सक्दिन थिएँ ।
स्कुले जीवन सकियो । ईलाम क्याम्पसमा आई.कम. पनि सकाइयो राजधानी तिर आएर उच्च शिक्षा अध्ययनका सिलसिलामा पुराना साथीभाइ पनि छुटे पूर्ण सर सँग भेट गर्ने मौका पनि मिलेन तर पनि मनमा त्यो थप्पडको बारेमा पूर्णसर सँग बसेर वास्तविकता सुनाउने रहर बनिरह्यो । तर विधिको विधान अर्को पटक म ईलाम जाँदा पूर्ण सर हामीलाई छोडेर कहिल्यै न फर्किने यात्रामा गैसक्नु भएको रहेछ । धेरै वर्ष पछि घर फर्कंदा एक पटक त्यो तामाङ्ग साथी सँग ईलाम बजारमा भेट भएको थियो र त्यो थप्पड उसलाई सम्झाएँ ऊ पनि हाँस्यो 

सायद यो पोस्ट पढेर अहिले मेरा समकक्षीहरू र गुरुजनहरू पनि हाँस्नु हुनेछ










No comments:
Post a Comment