Friday, March 24, 2023

यात्रा संस्मरण~ (मृत्युको नजिक पुग्दा)



सन् २०१० को सेप्टेम्बर महिनाको कुरा हो, म त्यो बेला भारतको उत्तराखण्डको उत्तरकाशी भन्ने ठाउँमा थिएँ। उत्तरकाशी हिमालयको एक सुन्दर शहर मात्र नभएर साधुसन्तहरूको तपस्थली पनि हो । उत्तरकाशी सन्त मण्डली द्वारा सेप्टेम्बर १५ देखि २७ सम्म उत्तराखण्ड कै चमोली जिल्लामा अवस्थित पवित्र तीर्थस्थल बद्रीनाथमा शाङ्करभाष्य पारायणको कार्यक्रम थियो । संयोगले मलाई पनि त्यो कार्यक्रममा सहभागी हुने मौका मिलेको थियो । मेरो जिम्मेवारी कार्यक्रम स्थलमा एक अस्थायी कार्यालय बनाएर कार्यक्रम अवधिभर आएका पाहुनाहरुको स्वागत, खानपान तथा शयन आदिको व्यवस्थामा थियो त्यसैले हामी १२ सेप्टेम्बर नै उत्तरकाशीबाट पिपलडाली हुँदै गढवालको श्रीनगरका लागि निस्कियौं। सेप्टेम्बरको महिना वर्षायाम सकिएकोले बाटो राम्रै छ भनेर हामी १० जना आफ्नै सानो वाहन र अर्को एक परिचित व्यक्तिको मारुतीको अल्टो ८०० लिएर बाटो लाग्यौं । एउटा म आफैं चलाइरहेको थिएँ भने अर्को एक चिनजानको व्यक्तिको थियो उहाँ पनि आफैं चलाउँदै हुनुहुन्थ्यो। पहाडी बाटो रमिता हेर्दै म अगाडि अगाडि चलिरहेको थिएँ। मेरो साथमा पूर्वीय दर्शनका प्रखर विद्वान् वेदान्त-आचार्य गुरुज्यू, लगायत अन्य दुई वृद्ध र एक केरलका मित्र, जसले मलाई ड्राइभिङ्ग सिकाउनु भएको थियो उहाँ पनि हुनुहुन्थ्यो । गुरुज्यूले मिठा मिठा कथा र प्रेरक प्रसंगहरू सुनाउँदै हुनुहुन्थ्यो त्यसैले पनि बाटो काटेको पत्तै हुँदैन थियो ।

भारत तिर एक उखान नै छ हिमालयको मौसम र बम्बईको फेसन कुनै पनि बेला बदलिन सक्छ । त्यस्तै भयो मौसम एकाएक बदलिएर वर्षा शुरू भयो । हामी जाँदै गरेको बाटोमा अगाडि पहिरो आएर बाटो रोकियो केही समय प्रतिक्षा गर्यौं तर सफा गर्न आएको डोजर पनि फिर्ता भयो । स्थानीय मानिसहरूको सल्लाह अनुसार हामी मार्ग परिवर्तन गरेर ग्रामीण क्षेत्रको सडक हुँदै पीपलडाली निस्कन अगाडि बढ्यौं। झमक्क रात परिसकेको थियो जतासुकै बाटो भत्किएर हिलो र खाल्डाखुल्डी थियो हामी जसोतसो पार गर्दै अगाडि बढ्यौं । पीपलडाली पुग्न करीब ४/५ किलोमिटर जति थियो होला गुरुजीले अकस्मात् आकाश तिर हेर्दै भन्नुभयो आज चन्द्रमा अनौठो देखियो केही अनर्थ हुन सक्छ ।

बेलुकाको ८ बजेको थियो निक्कै अन्धकार, अलि अलि जूनको उज्यालो थियो हामी पहिरोले पुरेर सम्याएको तर हिलो दलदल भएको ठाउँ पार गर्दै थियौं उहाँले अनर्थ हुन्छ भनेको १५/२० मिनेट मात्र भएको थियो होला माथिबाट १०/१५ वटा ढुङ्गा एक साथ झरेको आवाज आयो । उभो फर्किएर हेरें अँध्यारोमा ढुँगा झरेको हल्का मधुरो दृश्य देखियो पछाडि अर्को गाडी पनि थियो दलदल भएकोले तुरुन्त गाडी ब्याक गर्न या दौडाउन सक्ने अवस्था पनि थिएन । आज त हामी त्यै पुरिने पक्का जस्तो भयो । स्टोरिङमा टाउको राखेर आत्मसमर्पण गर्दै भगवान् सम्झनु भन्दा अर्को विकल्प पनि थिएन त्यहाँ त्यै नै गरियो । सबै ढुङ्गा एकसाथ आए कोई गाडी नाघेर बाटो मुनि पुगे कोई बाटोमा छरिए, एक ठूलो ढुङ्गा झण्डै गाडीलाई छोएर गाडी अगाडि बाट बाटो मुनि गयो । ढुङ्गा झर्न रोकिए पछि हेर्दा एक ढुङ्गाले गाडीको पछाडिको भागमा फ्युल ट्यांकीको बिर्को छेउमा लागेर खाल्डो परेको देखियो । अरु खास केही भएन हामी ५ जना नै सुरक्षित रह्यौं । पछाडिको गाडी हामी भन्दा अलिक पछाडि रहेकोले केही भएन । जसोतसो गढवालको श्रीनगर शहर सम्म पुग्यौं र त्यो रात त्यहीं एक होटलमा बसेर भोलि पल्ट बिहान चिया नास्ता गरेर बद्रीनाथ तर्फ लाग्यौं । करिब १३ वर्ष भयो अहिले पनि कुनै असहज परिस्थिति आउँदा त्यो मर्दा मर्दै बाँचेको दिन सम्झन्छु आनन्द आउँछ ।

No comments:

Post a Comment