सन् २००७ को जुन महिनामा म उत्तराखण्डका चारधाम (यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ) यात्राको लागि एक्लै निस्किएको थिएँ । मेरो यात्रा उत्तराखण्ड कै उत्तरकाशीबाट शुरू भएको थियो यात्रा क्रम यामुनोत्रीबाट शुरु गर्नुपर्ने प्रचलन रहेछ त्यही अनुसार म उत्तरकाशीबाट बस चढेर यमुनोत्री तर्फ लागें । साँझ तिर म जानकी चट्टी भन्ने ठाउँ सम्म पुगेँ, जहाँ सम्म बस पुग्थ्यो । त्यहाँबाट हिड्नु पर्ने भएकोले त्यो रात त्यहीं बसेर बिहानै जाँदा सहज हुने र माथि भन्दा चिसो पनि कम हुने हुनाले त्यो रात जानकी चट्टीमा नै बस्न केही यात्रीहरुले सुझाव दिएको हुनाले म त्यहीं बस्ने तयारी गरें । धार्मिक यात्राका क्रममा एक्लै हुँदा प्रायः म धर्मशाला, आश्रम, मन्दिर आदिमा बस्न रुचाउँथे । साधुसन्तहरू सँग सत्संग गर्दै, सात्विक भोजनको आनंद लिँदै र आश्रमहरूमा सेवा गर्दै यात्रा गर्नुको आनंद नै बेग्लै हुने हुनाले म त्यहाँ पनि एक राम मन्दिरको धर्मशाला मै त्यो रात गुजार्ने निधो गरें । सिमसिम पानी परिरहेको हुनाले जुन महिना भए पनि निक्कै चिसो थियो । चिसो बढेकोले माथि नगई तल नै बस्नेहरूको संख्या धेरै हुदै गयो । भोजनालयमा काम गर्ने व्यक्ति एक जना मात्र रहेछन् अनि मैले पनि उनलाई सहयोग गर्ने निधो गरेर रोटी वेल्ने बेलन चौका समातें । घरमा आमाले रोटी बेल्दा सानैमा आमासँग बसेर रोटी बेल्ने कला सिकेको हुनाले मलाई भोजनालय तिर गएर रोटी बेल्न सहयोग गर्न कुनै असहज पनि लागेन ।
हामी रोटी, दाल, सब्जी पकाएर खुवाउँदै गयौं । साँझबाट करीब १० बजे राति अबेरसम्म हामी रोटी बनाउने र खुवाउने क्रममा व्यस्त भयौं केही थकान महसुस भए पनि त्यसरी तीर्थस्थल गएर सेवा गर्न पाउनुको आनंद अलग थियो । यात्री धेरै भएकाले सुत्ने कपडाहरू र ठाउँ प्रायः भरिएछ मेरो मेरो लागि एक सानो कोठा र केही थान कम्बल बचेको रहेछ त्यहीं ओढेर त्यो रात बिताइयो ।
बिहान सबेरै उठेर स्नान आदि नित्यकर्म सकेर म उकालो लागें । सानो बाटो भए पनि तीर्थयात्रीको सहजताका लागि खच्चर, डोको, डोली आदिको सुविधा पनि रहेछ । त्यहाँ खच्चर चलाउने, डोकोमा र डोलीमा मान्छे बोक्नेहरुले नेपाली भाषा बोलेको सुनेपछि एक जना डोको बोकेका व्यक्तिलाई सोधें । अधिकांश व्यक्तिहरू पश्चिम नेपालका रहेछन् यात्राको सिजनमा त्यहाँ काम गर्न गएका रहेछन् । हिँड्दै जाने क्रममा धेरै नेपाली तीर्थयात्रीहरू पनि भेटिए । ढाकाटोपी लगाएका एक व्यक्तिलाई सोधें उहाँको घर काठमाडौं भन्नुभयो अनि सरकारी जागीरे भनेर परिचय दिनुभएको थियो । उहाँहरू ठूलो समूह रहेको र सबैलाई समेटेर हिँड्न केही ढिला हुने देखेर म आफ्नै रफ्तारमा फटाफट हिँडे ।
म नेपालीसँग मात्र होइन अन्य यात्रीहरूसँग पनि बोल्दै गर्थें । हिड्ने क्रममा भारतको उत्तर प्रदेशबाट आएका एक तीर्थयात्रीसँग चिनजान भयो । उनी पनि एक्लै रहेछन् तर यो उनको पहिलो होइन पाँचौं यात्रा रहेछ । उनलाई चारधाम यात्राको बारेमा धेरै अनुभव रहेछ । महिनौं लगाएर पैदल यात्रा पनि गरेका रहेछन् । बाटोमा हिंड्न नसकेकाहरूलाई "जय यमुना मैयाँ" भन्दै बोलाउँदै हौसला दिँदै हामी अगाडि बढ्यौं । मन्दिरमा दर्शन गरेपछि त्यो रात त्यहीं बस्ने निधो भयो । मन्दिरकै छेउमा एक सन्तको आश्रम रहेछ । सबैले नेपाली बाबा भन्दा रहेछन् । दिउँसोको भोजनको समय भएकाले हामी पनि त्यहाँ लंगरमा बसेर भोजन गरेंउ र दिनभरि आराम गरेंउ । बेलुकाको आरती पछि बाबाजी सँग गफ गर्ने मौका मिल्यो ।
नेपाली बाबाका नामले प्रसिद्ध उहाँको शरीर निक्कै वृद्ध थियो । ४२ वर्ष देखि त्यही ठाउँमा साधनारत बाबाजीले तीर्थ यात्रीको सेवामा जीवनलाई समर्पित गर्नु भएको रहेछ । सन्त भएकोले मैले नाम, थर अनि नेपाल घर कहाँ थियो भनेर त सोधिन, किन कि साधुसन्तहरूलाई यो सब सोधेको त्यति राम्रो पनि होइन । सन्त सबैका साझा हुन्छन् उनीहरुलाई कुनै भाषा, सम्प्रदाय र देश विशेषको घेराबाट हेर्नु पनि उपयुक्त हुँदैन जस्तो लाग्यो ।
No comments:
Post a Comment