Monday, March 27, 2023

रङ्गीन नगरी मुम्बईको यात्रा


यात्रा संस्मरण ~ सन् २००६ को सेप्टेम्बर महिना हामी रङ्गीन नगरी मुम्बईको यात्रामा थियौं । पहिला पनि एउटा प्रसङ्गमा मैले यो यात्राको बारेमा अलिकति लेखेको थिएँ । संयोग पनि त्यस्तै मिल्यो हामीले महानायक अमिताभ बच्चनको जुहू स्थित "जलशा" बंगलो कै नजिक करीब एक महिना बिताएका थियौं।
एक दिन बेलुकाको समय थियो हामी बसेको बंगलोको बाहिर पटि गार्डेनमा बसेर जलशा (अमिताभ बच्चनको बंगलाको नाम) तिर फर्केर गफ गर्दै थियौं एकाएक राजेश खन्नाको प्रसङ्ग निस्कियो ।
आनंद, बावर्ची, आराधना, कटी पतंग, आप की कसम आदि जस्ता मुभीका प्रसङ्ग आए । हामी जसको घरमा अतिथि बनेर गएका थियौं उहाँ पनि राजेश खन्नाको ठूलो फ्यान हुनुहुँदो रहेछ । उहाँ धेरै पटक राजेश खन्नासँग भेट्न पनि जानु भएको रहेछ । उहाँको जीवन पनि उहाँ अभिनित चलचित्र जस्तै शुरुमा रोमान्टिक अन्त्यमा दुःखान्त रहेको कुरा उहाँले सुनाउनु भयो । हाम्रो कुरा अगाडि बढ्ने क्रममा मुम्बई बसाईमा समय मिलाएर राजेश खन्नासँग पनि भेट गराउने कुरा उहाँले गर्नु भएको थियो । किन्तु हामी एक बृद्ध बिरामीको उपचारका लागि गएका हुनाले पहिलो प्राथमिकता उपचार नै थियो । त्यसको दोस्रो दिन नै हामीलाई अस्पतालबाट फोन आयो । हामी मुम्बईबाट डोमीबली जानुपर्ने भयो । उपचार पछि हामी तुरुन्त दिल्ली हुँदै उत्तरकाशी फर्कियौं । त्यसैले सुपर स्टार भेट्ने हाम्रो योजना सफल भएन ।

अर्को पटक सन् २०१२ जुलाई १८ तारीख हामी राजधानी एक्सप्रेस मार्फत दिल्लीबाट मुम्बई जाँदै थियौं । त्यो पटक हामी पुरै घुम्ने भनेर नै गएका थियौं । कुनै जिम्मेवारी थिएन तर ट्रेनमा नै दुःखद् खबर आयो सुपर स्टार राजेश खन्नाको निधनको । तर पनि हामी त्यो पटक मुंबईका धेरै ठाउँ घुम्यौं । नवी मुंबई, एलिफेंटा आईलैण्ड लगायतका ठाउँहरू निकै रमाइला रहेछन् । गेटवे अफ इण्डियाबाट दुई तले बोटमा करीब १ घण्टाको जल यात्रामा हामी एलिफेंटा पुगेका थियौं तर दुःखको कुरा त्यो बेला अहिले जस्तो स्मार्ट फोन हामी संग थिएन । एक डिजिटल क्यामेरा थियो त्यो पनि मुम्बईको मलाड स्थित अपारमेंटमा जहाँ हामी बसेका थियौं त्यहीं छुटेछ । एलिफेंटामा रहेको विशाल चट्टानलाई कुँदेर बनाइएको मन्दिर देख्दा निक्कै अचम्म लाग्यो।





No comments:

Post a Comment